सर्वोत्तम सिमेन्टले सुनवलमा ४ करोडको स्वास्थ्य पूर्वाधार निर्माण गर्दै

काठमाडौं । सर्वोत्तम सिमेन्टले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधा सम्पन्न 'सर्वोत्तम इमर्जेन्सी अस्पताल' निर्माण कार्य सुरु गरेको छ । सोमबार आयोजित कार्यक्रमबीच सुनवल नगरपालिका–५ मा अस्पताल भवनको शिलान्यास सम्पन्न गरिएको हो ।

कोभिड–१९ महामारीको कठिन समयमा सर्वोत्तम सिमेन्ट र सुनवल नगरपालिका बीच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन नगरप्रमुख भिमबहादुर थापाको कार्यकालमा सुरु गरिएको उक्त प्रतिबद्धता अब कार्यान्वयनमा आएको हो ।

सर्वोत्तम सिमेन्टले महामारीका बेला नगरपालिकालाई १७ वटा भेन्टिलेटर उपलब्ध गराएको थियो । निर्माण सम्पन्न भएपछि ती उपकरणहरूको आवश्यक सर्भिसिङ गरी अस्पतालमै व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

लिफ्टसहितको तीनतले अस्पताल करिब ४ करोड रुपैयाँ लागतमा निर्माण गरिनेछ। निर्माणको सम्पूर्ण खर्च सर्वोत्तम सिमेन्टले नै व्यहोर्नेछ । कम्पनीका महाप्रबन्धक नेत्र प्रसाद घिमिरेका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गरी अस्पताल सुनवल नगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

बालमैत्री तथा अपाङ्गमैत्री डिजाइनमा निर्माण गरिने अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरू समेत उपलब्ध गराइनेछ । साथै, अस्पताल सञ्चालनपछि मर्मत–सम्भारको जिम्मेवारी समेत कम्पनीले नै लिने जनाएको छ ।

सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले यसअघि जग्गा अभावका कारण परियोजना अघि बढ्न नसकेको उल्लेख गर्दै हाल आवश्यक जग्गा उपलब्ध भएपछि निर्माण प्रक्रिया सुरु गरिएको बताइन् ।

स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण हुन लागेको यस अस्पतालले सुनवल क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

Share News