एमजीको ‘एस सिक्स’ कार सोमबारदेखि बजारमा आउने

काठमाडौं । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आगामी सोमबारदेखि नयाँ विद्युतीय एसयूभी ‘एमजी एस सिक्स’ को आधिकारिक बिक्री सुरु गर्ने भएको छ ।

विगत ८ वर्षदेखि नेपाली बजारमा विद्युतीय सवारी साधन उपलब्ध गराउँदै आएको एमजीले आफ्नो ईभी लाइनअपलाई विस्तार गर्दै अहिलेसम्मकै ठूलो मोडलका रूपमा ‘एस सिक्स’ भित्र्याउन लागेको हो । 

यसअघि एमजी फोर र एमजी एस फाइभमार्फत बजारमा बलियो उपस्थिति जनाइसकेको एमजीको यो नयाँ कारलाई चासोका साथ हेरिएको छ । ४.७ मिटर लामो यो एसयूभीमा १८० किलोवाट क्षमताको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ । 

यसमा प्रयोग गरिएको ७७ किलोवाट आवरको सीएटीएल उत्पादित एनसीएम ब्याट्रीले सिंगल चार्जमा ५३० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्छ । रियर ह्वील ड्राइभ सिस्टममा आधारित यस गाडीले १४४ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्दछ, जसको सहायताले मात्र ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दाबी छ । 

एमजी एस सिक्सको इन्टेरियर र प्रविधि निकै लोभलाग्दो छ । यसको क्याबिन धेरै हदसम्म एमजी फाइभबाट प्रेरित रहे पनि यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ११ वटा प्रिमियम स्पीकर, पानारोमिक सनरुफ, हिटेड सिट र सामान राख्नका लागि अगाडि भागमा फ्रङ्क्सको सुविधा, सुरक्षा र सहजताका लागि एड्जस्टेबल रिजेनरेटिभ ब्रेकिङ, वान पेडल ड्राइभिङ र विशेष ‘रेन नाइट मोड’ जस्ता फिचर्स समावेश छन् । 

बाहिरी बनावटको कुरा गर्दा यसको अगाडिको भाग एमजी फाइभसँग मिल्दोजुल्दो देखिए तापनि पछाडिको भाग र समग्र स्ट्यान्सले यसलाई एक परिपक्व र ’प्रोपर’ एसयूभीको लुक्स दिएको छ । 

नेपाली सडकमा एमजीका विद्युतीय सवारी साधनहरू सफल मानिएकाले, उच्च रेन्ज र प्रिमियम फिचर्ससहित आउन लागेको एस सिक्सले प्रिमियम ईभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्ने छ ।

Share News