काठमाडौं । मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई २०० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा सिप्रदीका तर्फबाट उक्त सुरक्षा सामग्रीहरू प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
मनसुनमा बाढी, डुबान, भू–स्खलनजस्ता घटनाबाट उपत्यकामा नियमित रूपमा मानवीय र भौतिक क्षति हुने भएकाले सुरक्षाकर्मीका लागि लाइफ ज्याकेट जस्ता सामग्री महत्वपूर्ण मानिन्छन् । यसलाई मध्यनजर गर्दै सिप्रदीले यो सहयोग गरेको जनाएको छ ।
एआईजी तामाङले विपद् रोक्न नसकिने भए पनि समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सकिने भन्दै विपद्का बेला अग्रपङ्क्तिमा खटिने प्रहरीलाई सहयोग गर्नु सकारात्मक उदाहरण भएको बताए । उनले प्राप्त सामग्रीहरू विशेष सुरक्षा गण त्रिपुरेश्वर, सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्ज र पहरा गण सामाखुसीलाई तत्काल ५०/५० थानका दरले हस्तान्तरण गरिएको जानकारी दिए ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजिब बाबु श्रेष्ठले विपद्को समयमा खटिने सुरक्षाकर्मीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सिप्रदीका सीओओ राजेश प्रसाद गिरी, भिपी सौरभ राज थपलिया, प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानालगायत उच्च प्रहरी अधिकारी र सिप्रदीका प्रतिनिधिको उपस्थिति थियो ।
प्रहरीका अनुसार विपद् प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरूलाई तालिमसमेत प्रदान गरिँदै आएको छ । जसबाट उनीहरूको सीप र दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।