सीमा क्षेत्रबाट १३ वर्षीया नेपाली किशोरीको सकुशल उद्धार

काठमाडौं । भारत-नेपाल सीमा क्षेत्रमा मानव तस्करीको प्रयास विफल पार्दै एक नाबालिग नेपाली किशोरीलाई सशस्त्र सीमा बल (एसएसबी), प्रयास जुभेनाइल एड सेन्टर, डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

रक्सौल कस्टम नजिकै संदिग्ध अवस्थामा भेटिएका एक युवक र किशोरीलाई रोक्दा चकित पार्ने सत्य बाहिर आएको हो । उद्धार गरिएकी किशोरी (काल्पनिक नाम) मनीषा मनाली, करिब १३ वर्षकी भइ काठमाडौंकी बासिन्दा हुन् ।

अनुसन्धानमा खुलेअनुसार मनीषाको भारतको पूर्वी चम्पारण, तुरकौलिया निवासी शेख रिजवान (काल्पनिक नाम) सँग एक वर्षअघि ‘स्टार मेकर’ एपमार्फत परिचय भएको थियो । निरन्तरको अनलाइन संवादले उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएको थियो ।

रिजवानले उनलाई काठमाडौंमा दुईपटक भेटिसकेका थिए भने तेस्रोपटक दिल्ली लगेर कल सेन्टरमा जागिर दिने र विवाह गर्ने झूटो आश्वासन दिएका थिए । मनीषा आफ्नो परिवारलाई केही नबताईकन रिजवानसँग दिल्ली जाँदै थिइन् ।

सीमामा गस्ती गरिरहेको टोलीले दुवैलाई रोक्दा शंका उत्पन्न भई थप सोधपुछ गरिएको थियो । सो क्रममा घटनाको पूर्ण विवरण खुलेपछि मानव तस्करी रोकथाम इकाइले तत्काल कारबाही गर्दै दुवैलाई हरैया थाना, रक्सौलमा बुझाएको हो । आरोपीविरुद्ध मुद्दा दर्ता गरिएको छ भने अनुसन्धान जारी रहेको छ ।

उद्धार अपरेशनमा एसएसबीका सहायक सब–इन्स्पेक्टर खेमराज, निर्भय कुमार, आर्यलक्ष्मी, प्रयास जुभेनाइल एड सेन्टरकी परियोजना समन्वयक आरती कुमारी, सामाजिक अभियन्ता राज गुप्ता, विजय कुमार शर्मा र न्याय नेटवर्कका प्रतिनिधि सहभागी थिए ।

सामाजिक सञ्जालमार्फत युवाहरू झुटो प्रेम र प्रलोभनमा फस्दै गएको पछिल्लो प्रवृत्तिका कारण यस्तो घटनाको पुनरावृत्ति रोक्न अभिभावक र समाजको सक्रिय भूमिका आवश्यक देखिएको छ ।

Share News