काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी उनलाई भन्सार एरियाको टनेलतर्फ जान खोज्दा संकास्पद रुपमा देखिएपछि जाँच गरिएको थियो । सो क्रममा प्लास्टिकले बेरिएका तीन वटा अर्धठोस डल्लामा लुकाइएको १ किलो १५९ ग्राम सुन फेला परेको हो ।
प्रहरीका अनुसार बरामद सुन अर्धठोस अवस्थामा रहेको छ । पक्राउ परेकी खेमानीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।