काठमाडौं । इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकमध्ये स्वदेश फर्किन चाहनेहरूका लागि सरकारले औपचारिक रूपमा नामावली संकलन सुरु गरेको छ ।
इरान–इजरायलबीचको चर्किंदो द्वन्द्वको सम्भावित असरलाई मध्यनजर गर्दै उद्धार तयारीस्वरूप यो प्रक्रिया थालिएको हो ।
नेपाली दूतावासले इच्छुक नेपालीहरूले विवरण भर्न सक्ने अनलाइन फारम सार्वजनिक गर्दै फारम भरिदिन अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेका छन् । हालसम्म उनीहरूबारे कुनै अप्रिय खबर प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकालाई प्राथमिकताका आधारमा उद्धार गरिने स्पष्ट पारे ।