उत्पादन बढ्दा चैते धानको मूल्यमा व्यापक गिरावट, धानभन्दा भुस महँगो

काठमाडौं । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार ४२२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । 

चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ । जिल्लामा गत वर्ष ९८ हजार ९५२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई १ लाख १ हजार ३७४ मेट्रिक टन उत्पादन भएको हो । गत वर्ष १७ हजार ६७० हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ७५५ हेक्टर पुगेको कृषि ज्ञान केन्द्र मोरङको प्रमुख दीपा देवले बताइन् ।

अघिल्लो साल चैते धानको मूल्य प्रतिमन १ हजार २ सय रुपैयाँसम्म पुगेकोमा यस वर्ष आघा घटेर प्रतिमन ६ सयमा कारोबार भइरहेको बेलबारी-९ का धान काँटा व्यवसायी हरेराम शाहले जानकारी दिए ।

चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ११ भाङ बारीका किसान वीरेन्द्र खत्रीले भने, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भुस ८ सय रुपैयाँ मन हुँदा चैते धान ६ सय रुपैयाँ छ ।’

कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।

चैते धानमा हर्दिनाथ १, चैते ५, चैते ६ र राम धान किसानले रोप्ने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

Share News