काठमाडौं । तीनकुने घटनामा संलग्न आरोप लागेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा मंगलबार उपस्थित भएका छन् ।
सोही घटनामा संलग्न रहेका राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
आज अदालत पुगेका मिश्रको पनि आजै थुनछेक बहस हुँदैछ । बहसपछि उनलाई थुनामा राख्ने वा रिहा गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।
रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मिश्रले दिएको अभिव्यक्ति घटनालाई भड्काउन मद्दत पुगेको आरोप लगाइएको छ ।