काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ ।
५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुने जनाइएको छ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ। कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमा समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गर्ने जानकारी दिए ।
प्रतियोगितामा १८ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्ने जनाइएको छ।
विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर ७ लाख ४२ हजार ५ सय नगद पुरस्कार पाएका निरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन् । तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन्।
भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्र बहादुर राई र सुबास तामाङले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ।
चार दिने प्रतियोगितापछि असार ७ गते ९शनिबार० प्रो-एम प्रतियोगिता हुनेछ। जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।