काठमाडौं । भीषण वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहानदेखि ठप्प बनेको छ । बिहान करिब ११ः३० बजेदेखि सुरु भएको तीव्र वर्षाले भिजिबिलिटी अत्यधिक न्यून भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो ।
विमानस्थलका कर्मचारी महेश अर्यालका अनुसार खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान प्रभावित भएका छन् । कतिपय जहाज आकासमै फन्को लगाउँदै होल्ड गरिरहेका छन् भने केहीलाई वैकल्पिक विमानस्थलमा डाइभर्ट गरिएको छ ।
बुद्ध एयरको काठमाडौं-विराटनगर उडान सिमरा डाइभर्ट गरिएको छ भने विराटनगरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज आकासमै होल्डमा राखिएको छ ।
प्रशासनले मौसम खुल्ने बित्तिकै होल्डमा रहेका जहाजलाई प्राथमिकताका साथ अवतरण गराउने र डाइभर्ट भएका जहाजलाई पुनः काठमाडौं फर्काउने तयारी गरिरहेको जानकारी दिएको छ । वर्षा नरोकिएसम्म त्रिभुवन विमानस्थलको हवाई सञ्चालन प्रभावित हुने संकेत प्रशासनले दिएको छ ।