काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र बाँकीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमाण्डर प्रसाईँसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो ।
साथै अन्य सबैलाई १० हजारदेखि १ लाखसम्म धरौटीमा रिहा गर्न आदेश दिएको हो । तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आदेशमा केही उल्लेख छैन । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।