काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अनुसार, ठेक्काको लागि समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको प्रस्ताव राखेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको प्रस्ताव पेस गरेको थियो ।
कम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिई महँगो प्रस्ताव राख्ने कम्पनीलाई काम दिइएको भन्दै आयोगले ४ करोड ३१ लाख ७२ हजार २३७ रुपैयाँ ३२ पैसाको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
यसै आधारमा आयोगले बुधबार परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।