रिंगरोड छेउमै रोमाञ्चकता : ‘वन जंगल एडभेन्चर’ साहसिक पर्यटनको नयाँ गन्तव्य

काठमाडौं । साहसिक पर्यटनमा पछिल्लो समय रुचि राख्ने मानिसको संख्या बढ्दै गएको छ । अझ भनौं काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन् । जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन् ।

अब भने काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा-टाढा जान नपर्ने भएको छ । काठमाडौंकै रिंगरोडभित्र बसोबास गर्नेहरूका लागि साहसिक काठमाडौँ रिंगरोड बाइपासदेखि १० किलोमिटर भित्र तथा ककनी राजमार्गमा पर्ने 'वन जंगल एड्भेन्चर' ले साहसिक पर्यटनको मज्जा दिने भएको छ । जुन तारकेश्वर नगरपालिका ३ मा पर्छ ।

जसले साहसिक पर्यटनको आभास मात्र दिलाउँदैन । त्यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्ने छन । आठ महिनादेखि काठमाडौं भित्र रहेका र साहसिक पर्यटनमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिइरहेको वन जंगल एडभेन्चरका सञ्चालक एलिशा ढकाल बताउँछिन् ।

काठमाडौंमा बसोबास गरिरहेका मानिसलाई प्रकृति र साहसिक पर्यटनप्रति रुचि बढाउन एड्भेन्चर सञ्चालन गर्नुपरेको उनले सुनाइन् । हिजोआज साहसिक पर्यटनको प्याकेज बनाएर जानेको संख्या बढिरहेको छ । एडभेन्चरले काठमाडौं भित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको छ ।

काठमाडौंका मानिसहरू यहाँ आउँदा समयको बचत र जंगल भित्र सबै एड्भेन्चरको फरक महसुस गर्न पाउने भएकाले यहाँ आउने सेवाग्राहीको संख्या बढ्दै गइरहेको ढकालले बताइन् । 

उनका अनुसार ३० रोपनीमा फैलिएको वन जंगलमा सेवाग्राहीले जीप लाइन, रोलर कोष्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष,हाइ रोप कोर्ष, किड्स एड्भेन्चर्स कोर्ष जीप लाइन ट्रीप टप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउने छन् ।

साहसिक पर्यटनका लागि नेपालमै पहिलोपटक रोलर कोष्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन् । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्ने छन् ।

यहाँ आउनेहरूले मनोरञ्जन मात्र नभइ रात पनि बिताउन सक्ने छन् । टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्ने उनले बताइन् । एड्भेन्चरमा ११ टेन्ट र १ मौलिक घर रहेको छ । जंगलभित्र बसेर फायरिङ्ग तथा मनोरञ्जन गर्न चाहनेलाई यस खालेको व्यवस्था गरिएको उनले उल्लेख गरिन् ।

'सहरमा धेरैले गाउँ-गाउँमा हुने पुराना शैलीका देखेका छैनन्,' उनी भन्छिन, 'हिजोआज काठमाडौंमा बसोबास गर्नेले पुराना ढाँचाका नेपाली घर देखेका छैनन् । तिनकै लागि भए पनि यहाँ मौलिक घर राखिएको छ । यहीँ सुतेर बसेर रातको आनन्द लिन पाउँनेछन् ।'

मौलिकता हराइरहेको बेला वन जंगल एडभेन्चरले नेपाली घर देखाउन सक्नु यहाँको विशेषता रहेको ढकाल प्रस्ट पार्छिन् । उनले मौलिक घरमा ढिकी,जाँतो,हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाउने छन् । गाउँघरमा गाईवस्तु,खसी तथा कुखुरा राख्न गोठ बनाइन्थ्यो ।

वन जंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागले अनुमति दिएको छ ।

Share News