देशभरका कर्मचारीले गरे अनिश्चितकालीन आन्दोलन, संघीय ऐन जारी गर्न माग

काठमाडौं । संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका राष्ट्रसेवक कर्मचारीहरू आइतबारदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिले गरेको हो । यो समितिमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी निकटका कर्मचारी संगठनहरूका साथै स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

निर्देशक समितिको जेठ २० गतेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीका अनुसार सोही निर्णय अनुसार आजदेखि कर्मचारीहरूले आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

Share News