एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सम्झौता, सीप विकास प्रवर्द्धन गर्न एसईईपी मेला आयोजना गर्ने

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रालि र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता भएको छ ।

सम्झौताअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तिको निर्माण र विकासमा केन्द्रित एसईईपी मेला आयोजना गर्नेछन् । यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो ।

जेठ ७ बाट सुरु भइसकेको एसईईपी (सीप तथा रोजगारी अभिवृद्धि कार्यक्रम)मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ । 

यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ । साथै यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्याउने विश्वास लिइएको छ ।

एसईईपी मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो । आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे ।

एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रालिका सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रालिका सीईओ महेश विष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरे ।

एसईईपी मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्त्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । 

यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक(निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन् ।
 

Share News