आमाको नामबाट मात्र पनि नागरिकता पाउने विधेयक अघि बढ्यो

काठमाडौं । नेपालमा आमाको नामबाट मात्र नागरिकता लिन सकिने व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका लागि अगाडि बढाइएको छ । गृहमन्त्री रमेश लेखकले माघ १५ गते दर्ता गराएका नागरिकता ऐन संशोधन विधेयकलाई समितिले बुधबारदेखि औपचारिक रूपमा दफावार छलफल सुरु गरेको हो ।

प्रस्तावित विधेयकको दफा ४ मा, 'कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेमा सो व्यक्ति आमाको नामको आधारमा नागरिकता लिन योग्य हुनेछ,' भन्ने व्यवस्था समेटिएको छ । यो व्यवस्था लागू भएमा बाबु नभएर मात्र आमाको परिचयबाट पनि नागरिकता पाउने बाटो खुल्नेछ ।

यस विधेयकले नागरिकता प्राप्तिका लागि आवश्यक कागजातहरूमा समेत लचकता ल्याएको छ । जस्तै सिफारिस नपेस गर्न सक्ने अवस्थामा स्थानीय तहका तीन जना नागरिकको साक्षीमा स्थलगत सर्जमिनका आधारमा नागरिकता दिन सकिने उल्लेख गरिएको छ ।

नागरिकता विधेयकमा गरिएको यो संशोधन सामाजिक समावेशिता, महिला अधिकार र पहिचानको सवालमा महत्वपूर्ण मानिएको छ । विधेयक पारित भएमा धेरै नेपाली युवायुवतीले आमाको आधारमा नागरिकता प्राप्त गर्ने बाटो सहज हुने अपेक्षा गरिएको छ ।

Share News