काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा ५ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने सामानको हिस्सा १२.७५ अर्थात् ५७ अर्ब ३० करोड रुपैयाँ बढी मूल्यका वस्तु तथा सामान भित्रिएका हुन् ।
चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पेट्रोलियम पदार्थमात्र १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा ४५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन् । चालु आवको १० महिनामा २९ अर्ब २ करोड रुपैयाँ मूल्यका मेसिनरी तथा तिनका पार्ट पुर्जा आयात भएका छन् ।
त्यस्तै २८ अर्ब ५१ करोड रुपैयाँ मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा २३ अर्ब ८५ लाख रुपैयाँ मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।
चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । चालु आवको १० महिनामा ७९ अर्ब ३ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जब कि गत आवको १० महिनामा यो नाका हुँदै २५ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २१०.१६ प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड रुपैयाँ बढीको निर्यात भएको हो ।
चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा ४६ अर्ब ५३ करोड रुपैयाँ मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।
जब कि गत आवको सोही अवधिमा ९ करोड रुपैयाँका ४ लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा ७ अर्ब २७ करोड रुपैयाँको ३ करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जब कि गत आवको १० महिनामा १० करोडको ५ लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।