काठमाडौं । राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै भइरहेको आन्दोलनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
नारायणचौरबाट सुरु भएको राप्रपा निकट राजावादी प्रदर्शन बालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार आन्दोलनका क्रममा थापा सहित अन्य केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको छ ।
यसअघि जेठ १५ देखि राजसंस्थाको पुनःस्थापनाको मागसहित प्रदर्शनको घोषणा गरिएको थियो । आन्दोलनको सिलसिलामा हिजोको जुलुस बालुवाटार नजिकै पुग्दा प्रहरीले निगरानी बढाएको थियो । आज पुनः त्यही दिशातर्फ प्रदर्शन अघि बढेपछि प्रहरीले कडाइ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूलाई कहाँ राखिएको र के आधारमा पक्राउ गरिएको भन्नेबारे विस्तृत जानकारी प्रहरीले सार्वजनिक गरिसकेको छैन । राप्रपाले भने शान्तिपूर्ण प्रदर्शनमा दमन गरिएको भन्दै विरोध जनाएको छ ।