काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिए । आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए । एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा राजसंस्था पक्षधरहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताए । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको जानकारी दिए ।
अध्यक्ष लिङदेनले भने, ‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो ।’
अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए । दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको बताए । गणतन्त्र झन कमजोर हुँदै गएको प्रमाणित भएको जानकारी दिए ।