चेम्बर अफ कमर्सले सार्वजनिक गर्‍यो हिरक जयन्तीको लोगो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वर्षगाँठको अवसरमा हिरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । 

शुक्रवार काठमाडौंस्थित कार्यालयमा एक समारोहका बीच हिरक जयन्तीको लोगो सार्वजनिक गरिएको हो । 

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हिरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे । 

सार्वजनिक कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले हिरक जयन्तीको अवसरमा वाकथन गर्ने, सगरमाथामा लोगो लैजाने, विभिन्न मेलाहरू आयोजना गर्ने कार्यक्रम रहेको बताए । 

शिक्षा, स्वास्थ्य, खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम हुने उनले जानकारी दिए । चेम्बरअन्तर्गत रहेका २२ वटा समितिले नै विभिन्न कार्यक्रम गर्ने उनले बताए । २००७ सालमा नेपाल चेम्बर अफ कमर्सको स्थापना भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले चेम्बर अफ कमर्सले अर्थतन्त्रको विकासमा धेरै ठूलो योगदान दिँदै आएको बताए । ७५ वर्षमा नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको क्षमता वृद्धि, लगानीमैत्री वातावरणको निर्माणमा सरकार र निजी क्षेत्रबीच सेतु कायम गरेको बताए । 

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले  वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हिरक जयन्ती मनाउँदैछ । हिरक जयन्तीलाई भव्य बनाउन सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हिरक जयन्ती मुल समारोह समिति गठन गरिसकेको चेम्बरले बताएको छ । 

Share News