काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् । १८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताए ।
उनले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क राखे । उनले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सङ्कटग्रस्त रहेको जिकिर गरे । मुलुकको राष्ट्रियतामाथि लगातार वाह्य हस्तक्षेपहरू भइरहेका धारणा राखे । सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको बताए । २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको जानकारी दिए ।
उनले भने, 'एयरपोर्टको धन्दा कस्ता कस्ता हुँदा रैछन् । धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् । देश अहिले राजनीतिक रूपले पनि सङ्कटग्रस्त छ, आर्थिक रूपले पनि सङ्कटग्रस्त छ, सामाजिक हिसाबले पनि सङ्कटग्रस्त छ, सांस्कृतिक हिसावले पनि सङ्कटग्रस्त छ, मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेका छन् ।'
उनले सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेको समेत बताए ।