पत्रकारसँग गृहमन्त्रीले मागे न्याय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने प्रष्ट पार्दै आफूले पनि न्याय पाउनु पर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा नदिने र आफूले पनि न्याय पाउनुपर्ने माग गरे ।

संविधानले अधिकार प्रदान गरेको निकायले राष्ट्र सेवक कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा अनुसन्धानले पूर्णता नपाई मन्त्रालयको नेतृत्वलाई जोडेर प्रचार प्रसार गरिनु राम्रो नभएको लेखकले बताए । 

‘यदि पार्टीको एक कार्यकर्तामाथि अनुसन्धान भयो भने पार्टी अध्यक्ष वा सभापतिले राजीनामा गर्नुपर्ने ? सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्यो भने स्थिति के हो ? कुनै विषय उठ्न सक्छ त्यसलाई गम्भीरता पूर्वक लिएर निष्कर्षमा पुग्नुपर्छ,’ उनले भने । 

उनका अनुसार विगतमा पनि विभिन्न विषयमा सञ्चार माध्यममा समाचार आएका र केहीले अख्तियारले अनुसन्धान गरी अभियोजन समेत गरेकाे अवस्था थियो । तर, त्यस्तो अवस्थामा नेतृत्वले पद त्याग गरेका छैनन् ।

‘न्याय त मैले पनि पाउनुपर्ने होला नि । कि न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरो विरुद्ध कुनै उजुरी छ ? कहीँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनु पर्ला नि । यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला । मैले कसैमाथि दोषारोपण गरेको छैन,’ उनले भने । 

उनका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि रहेको उनले जानकारी दिए । 

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । आफू विरुद्ध नियोजित र षड्यन्त्र पूर्वक ढंगले आक्रमण गरिएको यो आक्रमण राजनीतिक पुर्वग्राहले प्रेरित भएको र यो क्रम जारी रहेको बताए । 

‘सबैभन्दा पहिलो जसरी यो विषय मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हो, यो बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा निवेदन गर्न चाहन्छु,’ उनले भने । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थ राज भट्टराई २०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेर काम गरिरहेको उनले बताए । आफूले गृहमन्त्रालयमा अन्तबाट सरुवा गरेर नल्याएको र तोकिएको जिम्मेवारीभन्दा अरूले धेरै जिम्मेवारी दिएका व्यक्ति रहेको उनको भनाइ छ । 

‘उहाँ निरन्तर २०७७ सालेदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ । अत्यन्तै महत्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो,’ गृहमन्त्री लेखकले भने ।  
 

Share News