काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार एक्कासि पत्रकार सम्मेलनको आयोजना गरे । भिजिट भिसा प्रकरणमा मुछिएका उनको राजीनामा माग गर्दै अहिले प्रतिनिधिसभा बैठक अवरुद्ध छ । मंगलबारदेखि अवरुद्ध बैठक बुधबार पनि चल्न सकेन । गृहमन्त्री लेखकले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखे पनि प्रतिपक्ष दलले उनको निरन्तर राजीनामा माग गरिरहेका छन् ।
यही बिचमा लेखकले बुधबार एक्कासि पत्रकार सम्मेलन कार्यक्रम राखे । धेरैले अब उनले राजीनामा दिन सक्ने अनुमान गरेका थिए । तर, उनले आफूमाथि अन्याय भएको धारणा राख्दै न्यायको माग राखे ।
‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रह, प्रतिसोध र नियोजित ढंगले प्रेरित छ,’ उनले भने ।
अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका विषयप्रति दुःख व्यक्त गर्दै उनले आफ््नो कुनै संलग्नता नभएको धारणा राखे ।
उनले पत्रकार सम्मेलनमा बोल्दै केही महत्वपूर्ण विषय उठान गरेका छन् । उनले उठान गरेको पहिलो विषय हो, ‘एक जना कर्मचारीले गरेको गलत कार्य र अपराधमा विभागीय मन्त्री नै जिम्मेवार हुनुपर्ने तथा राजीनामा दिनुपर्ने हो भने यो देशमा कत्ति मन्त्री चाहिएलान् ।’
उनले फेरि अहिले बाहिरिएको कर्मचारी आफू मातहतको नरहेको सुनाए ।
यस्तै, उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेको विषय उठान गर्दै उनीविरुद्द जाहेरी परेकोले संसदीय छानबिन समितिको माग गरेको र राजीनामा माग नगरेको सुनाए । उनले भने, ‘उहाँको विरुद्द प्रहरीमा जाहेरी परेको थियो, उहाँ स्वयम् नै संलग्न हुनुहुन्थ्यो तर अहिले कर्मचारीले गरेको गल्तिमा मलाई मुछ्न मिल्दैन, राजीनमा माग गर्द उचित हुँदैन ।नमा माग गर्द उचित हुँदैन ।’
उनले आयोग एउटा संवैधानिक निकाय भएकोले सो निकायले मेरो आफूले भनेको नटेर्ने र स्वतन्त्र भएर काम गर्ने भएकोले अनुसन्धानमा पनि कुनै असर र प्रभाव नपर्ने जानकारी दिए ।
उनले विगतको उदाहरण पनि सुनाउँदै भने, ‘यसअघि अख्तियारले अध्यागमन विभागकै महानिर्देशकमाथि अनुसन्धान गरेको थियो । तर, मन्त्रीले राजीनामा दिनु परेन ।’
उनले मन्त्रीले सरुवा गरेकै आधारमा कर्मचारीले गरेको अपराध मन्त्रीले बोक्ने नसक्ने धारणा राखे । ‘लोकसेवा आयोगले सयौं कर्मचारी सरुवा गर्छ, खटाउँछ त्यसको कुनै कर्मचारीले अपराध गर्यो भने आयोगले जिम्मेवारी लिन्छ र, उनले भने, ‘जसले अपराध गर्छ, उसैले जिम्मेवारी बहन गर्छ । उसको अपराध अरुले बोक्दैन ।’
संवैधानिक निकायको अनुसन्धानको निश्कर्षमा हामी सबैले पर्खिनु पर्ने उनको धारणा छ । उनले संसदमा आफ्नो कुरा राख्ने समय नदिएकोले अब सञ्चारकर्मीले न्याय दिने अपेक्षा रहेको सुनाए ।