मीनबहादुर गुरुङले गरे आइप्लेक्स मलको ५१ प्रतिशत सेयर खरिद, भाटभटेनी सञ्चालनको तयारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले काठमाडौंको नयाँ बानेश्वरस्थित आइप्लेक्स मलको ५१ प्रतिशत सेयर खरिद गरेका छन् । २०७६ सालदेखि सञ्चालनमा रहेको मलको बहुमत सेयर आपसी समझदारीमा खरिद भएको भाटभटेनीले जनाएको छ ।

हाल खरिद मूल्य सार्वजनिक नगरिए पनि छिट्टै मूल्य खुलासा गर्ने तयारीमा भईरहेको भाटभटेनीका एक कर्मचारीले जानकारी दिए । कर्मचारीका अनुसार सेयर खरिदसँगै आवश्यक प्रक्रियाहरू अघि बढाइ सकिएको छ । 

कर्मचारीले भने, ‘आइप्लेक्स मलको केही भागमा भाटभटेनी सुपरमार्केट सञ्चालन गर्ने प्रोसेसमा भाटभटेनी छ । तर मल हाल पूर्ण रूपमा भाडामा रहेकाले तत्कालै सुपरमार्केट सुरु गर्न समय लाग्ने देखिन्छ । गुरुङको सोच भाटभटेनी राख्ने नै हो, तर टुंगो लागेको छैन ।’

नयाँ बानेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्र आसपास हालसम्म भाटभटेनी सञ्चालनमा छैन । सोही क्षेत्रका लागि ठाउँ खोजिरहेको अवस्थामा आइप्लेक्स मल बिक्रीमा आएको र त्यसपछि सेयर खरिदको निर्णय भएको बताइएको छ । 

हालसम्म आइप्लेक्स मलमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरू सञ्चालनमा छन् भने अत्याधुनिक सुविधासहितका दुई सिनेमा हल समेत रहेको यो मल करिब ३० करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो । 

कोभिड र पछिल्लो आर्थिक मन्दीका कारण मलको व्यापार कमजोर हुँदै गएको छ। यस्ता परिस्थितिमा भाटभटेनी ग्रुपको प्रवेशले मलको पुनरुत्थान हुने अपेक्षा गरिएको छ।

गुरुङले पछिल्लो समय तिनकुनेमा निर्माणाधीन एक अस्पतालको सेयर खरिद गरिसकेका छन् भने दरबारमार्गमा पाँचतारे होटल, चितवनमा कोल्डस्टोर, काठमाडौंको चुच्चेपाटीमा अपार्टमेन्ट निर्माणका साथै विराटनगरमा होटल खरिद गरिसकेका छन् ।


 

Share News