काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गरेका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए ।
कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उनको भनाइ छ । प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाए ।
उनले भने, ‘पटक पटक सरमार बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो । यो एकदमै दुःखद् कुरा छ । त्यसकारण जहाँ समस्या छ त्यही हिट गरौँ । धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्ति ल्याएर हामी जान हुँदैन ।’
गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबारको सभाको बैठकमा नाराबाजी गरेका थिए ।