काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहने युवाहरूबाट रकम असुली भएको प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति गृहमन्त्री रमेश लेखकले कडा प्रतिक्रिया दिएका छन् । शनिबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफू कुनै गलत काममा संलग्न नभएको दाबी गर्दै यस्तो काम भएको प्रमाणित भए राजनीतिबाटै टाढिने घोषणा गरेका छन् ।
उनले भने, 'जुन दिन म यहाँ (गृहमन्त्री) आएँ, त्यस्तो कुनै गलत काम भएको पाइए भने त्यो दिनदेखि म राजनीतिमा देखिंदिनँ ।'
गृहमन्त्री लेखकका अनुसार मन्त्रालयले आजै औपचारिक विज्ञप्तिमार्फत प्रकरणबारे स्पष्ट पार्नेछ । उनले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियालाई लिएर आफूपनि अनुसन्धान गरिरहेको जानकारी दिए ।
'दुई–चार दिन चुप लागेर बसेको थिएँ, किनभने के भइरहेको छ, कहाँबाट भइरहेको छ भनेर बुझिरहेथें । धेरै कुरा थाहा भइसकेको छ,' गृहमन्त्री लेखकले भने ।
उनले यो विषयले पार्टीको गरिमा खस्काउने खालको नभएको दाबी गर्दै छानबिन निष्पक्ष ढंगले हुने विश्वास व्यक्त गरे ।
यसैबीच, भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकरणमा संलग्न अन्य कर्मचारीहरूतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।
शुक्रबार गृहमन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका कम्तीमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । हटाइएका अधिकांश नायब सुब्बा स्तरका कर्मचारी रहेको बताइएको छ ।