साढे २१ अर्बको निर्यातमा १९.८९ करोड मात्रै राजस्व, ३८.८८ अर्बको आयात हुँदा १२.७४ अर्ब राजस्व

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५१ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । 

‘गत आव २०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब ८ करोड ६४ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६.८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१.५१ प्रतिशत हासिल गरेका छौँ,’ उनले भने । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६०.५५ प्रतिशत अर्थात् ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार रुपैयाँ, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार रुपैयाँ, कफीबाट १९ करोड ३६ लाख ९० हजार रुपैयाँ, दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ, राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । 

यहाँबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

Share News