काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखा समिति सभापति नदिँदा प्रतिपक्षको छायाँ बनेको आरोप लगाएका छन् ।
बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सत्तापक्षले नै सार्वजनिक लेखा समिति लिने कुरा विगतमा पनि गलत रहेको र अहिले पनि राख्न नहुने बताए ।
सांसद मोदीले विगतमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसले पनि सत्तामा रहँदा सार्वजनिक लेखा समितिको नेतृत्व लिएको भन्दै यस्तो नजिर स्थापित गर्न नहुने बताए ।
उनले भने, ‘जुन सत्तापक्षको प्रधानमन्त्री हुनुहुन्छ, त्यही सत्ताको सभापति हुँदा आजको हविगत भएको छ । सार्वजनिक लेखा समितिमा प्रतिपक्ष अन्तर्राष्ट्रिय परम्परा जुन छ, त्यहीअनुसार हुनुपर्छ । सत्ताको कहीँ न कहीँ छायाँ सार्वजनिक लेखा समिति पर्नु हुँदैन । कुन पार्टीको कुरा होइन । माओवादीको प्रधानमन्त्री भएको बेलामा पनि हिजो सभापतिको रुपमा रहेका साथीहरु छन्, त्यो गलत थियो । नोपली काँग्रेसको प्रधानमन्त्री हुँदा यहाँ सार्वजनिक लेखा समितिको सभापति थियो । त्यो गलत थियो । त्यो नजिर स्थापित गर्न हुँदैन ।’
उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन आज नै पारित गरेर सम्बन्धित निकायमा पठाउन माग समेत गरे ।