सांसद आलेको दावी– पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताएका छन् । 

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताए । उनले ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गरे ।

सांसद आलेले भने, ‘अहिलेसम्म हामीले फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र हामीलाई उपलब्ध भएको छ । अहिलेसम्म हामीले डकुमेण्ट माग्दा पर्याप्त डकुमेण्ट पाएका छैनौं । ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट पाएका छैनौं । यति बलियो सार्वजनिक लेखा समिति किन दिनदिनै कमजोर हुँदैछ ? म चुनौतीका साथ भन्न चाहन्छु, १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पुर्याइएको छ । ७१ मिलियन त्यहाँ खुलम खुला भ्रष्टाचार भएको छ ।’

उनले ५० लाख रुपैयाँ परदेशबाट गाउँपालिकाले बजेट हाल्दा सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का गर्नुपर्ने तर यहाँ १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको जिकिर गरे ।

उनले भ्रष्टाचारको ट्रेलर पोखरामा देखिएको र अब फिल्म भैरहवामा हेर्नुपर्ने बताए । 

Share News