विदेशबाट लोडसेडिङ भयो भन्दै राति-राति फोन गर्छन् : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विदेशमा बस्ने व्यक्तिहरूबाट राति-राति फोन गरेर नेपालमा लोडसेडिङ भयो भन्दै अनावश्यक गुनासो गर्ने गरिएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो गुनासो गरेका हुन् । उनले भ्रम फैलाउने नियतले रातको १२ बजे समेत फोन गरेर बत्ती गयो भन्ने बताइएको तर सो ठाउँमा बुझ्दा विद्युत आपूर्ति सामान्य रहेको स्पष्ट पारे ।

'विदेशबाट पटक–पटक एउटै नम्बरबाट फोन आउँछ,' मन्त्री खड्काले भने, 'राति १२ बजे फोन गरेर भन्छन्– हामी कहाँ बत्ती गयो । तर त्यही ठाउँमा बुझ्दा विद्युत आपूर्ति भइरहेको हुन्छ ।'

उनले यस्ता भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह गर्दै लोडसेडिङ नभएको, उत्पादन कम भएको खण्डमा आयातमार्फत आवश्यक आपूर्ति सुनिश्चित गरिएको जानकारी गराए ।

त्यस्तै, उनले ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई समृद्ध नेपालको मुख्य आधारको रूपमा प्रस्तुत गर्दै उत्पादन वृद्धि र पूर्वाधार विस्तारमा सरकार गम्भीर रहेको बताएका छन् ।

Share News