काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा बुधबार सुनुवाइ हुने भनिए पनि स्थगित भएको छ ।
मंगलबारदेखि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुरु भएको सुनुवाइ नसकिएकाले मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त रहेका कारण संयुक्त इजलास बस्न नसकेपछि सुनुवाइ स्थगित गरिएको हो ।
मंगलबार लामिछानेको तर्फबाट अधिवक्ताहरू सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल र विवेक राउतले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस भने अझै बाँकी छ ।
त्यसपछि पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् भने अन्त्यमा सरकारी वकिल र पीडित पक्षका वकिलको तर्फबाट बहस हुनेछ ।