काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रका लागि भएको सूचना प्रविधि उपकरण खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई हानि पुर्याएको अभियोगमा सोमबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।
मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित अन्य तीन जना समेत प्रतिवादी छन् । अख्तियारका अनुसार 'एनआईटीसी-जीएनसीबी-६-०७५/०७६' शीर्षकअन्तर्गतको खरिदमा कुल लागत अनुमान २६ करोड २९ लाख ५३ हजार ३३५ रूपैयाँ कायम गरिएको थियो ।
सोही खरिदमा म्याक्स इन्टरनेशनल नामक कम्पनीले २०७६ असार ४ गते बोलपत्र पेस गरेको थियो । त्यसअनुसार कम्पनीलाई 'ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी' शीर्षकमा भ्याट बाहेक २ करोड ६५ लाख रूपैयाँ र 'अनसाइट सपोर्ट' शीर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रूपैयाँ भुक्तानी दिइएको अख्तियारले जनाएको छ ।
आयोगको दाबी अनुसार खरिद प्रक्रिया र भुक्तानीमा गैरकानुनी लाभ दिने नियत राखी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर भएको ठहर गर्दै मुद्दा दायर गरिएको हो ।