गभर्नर उम्मेदवार विश्व पौडेलविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं । योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर पदका लागि अयोग्य ठहर गर्दै मंगलबार सर्वोच्चमा रिट पेस गरिएको थियो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले राजनीतिक दलसँग आवद्ध व्यक्तिलाई गभर्नर नियुक्त गर्न नहुने दाबी गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले प्रारम्भिक अध्ययनपछि रिट दरपीठ गरेका हुन् । अदालतले रिटमा उल्लेख गरिएका विषयवस्तुहरू न्यायिक समीक्षा योग्य नठानी प्रक्रिया अगाडि नबढाउने निर्णय लिएको हो।

डा। पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार हुन् ।

दरपीठ भनेको कानुनी भाषामा अदालतमा दर्ता गरिएको मुद्दा (रिट, निवेदन आदि) स्वीकार नगरी खारेज गर्नु हो ।

यदि कसैले अदालतमा फलानोलाई गभर्नर बनाउन हुँदैन भनेर उजुरी गर्छ तर अदालतले त्यस उजुरीमा कानुनी आधार छैन भनेर अग्रिम चरणमै अनुसन्धान नगरी नै फिर्ता गर्छ भने त्यसलाई दरपीठ भनिन्छ ।

Share News