नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएका शिक्षकमाथि मुद्दा

काठमाडौं । खैरहनी माध्यमिक विद्यालय चितवनमा कार्यरत एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

खैरहनी नगरपालिका–६ स्थित सो विद्यालयमा मावि द्वितीय तहका स्थायी शिक्षक गोपाल प्रसाद शर्माले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको खुलेको हो ।

प्राप्त उजुरीको आधारमा अनुसन्धान गर्दा शर्मा द्वारा पेश गरिएको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । शर्मा नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पद, लाभ तथा सेवा सुविधा लिएको ठहर गर्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१०) बमोजिम कारबाहीको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार शर्मा विरुद्ध कैद र जरिवाना दुवैको मागदाबी गरिएको छ।

Share News