काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले पछिल्लो समय सरकार अर्कैले चलाउँदा जनतामा अविश्वास बढेको बचाएका छन् ।
मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र विषयक छलफल कार्यक्रममा आयोगको प्रतिवेदनका विषयमा प्रस्तुति दिँदै उनले सरकार अर्कै व्यक्तिले सञ्चालन गर्दा सरकारप्रति जनतामा निराशा र अविश्वास बढेको बताएका हुन् ।
'सरकारले केही राम्रो काम गर्दा पनि जनतामा निराशा छ, पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका जनतामा सरकारप्रति अविश्वास बढेको छ, यो सरकार अर्कै व्यक्तिले सञ्चालन गर्नुको कारण हो,' उनले भने ।
।
यस्तै, उनले सार्वजनिक निकायमा विश्वसनीयता, सुधार, स्थिरता र विशेषज्ञता हुन आवश्यक रहेको सुनाए ।
उनले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने, मौद्रिक व्यवस्थापन र स्थिर विनिमय दरको विकल्प खोज्नु पर्ने धारणा राखे ।
उनका अनुसार वर्तमान सकस समाधानका लागि बजेटमार्फत स्टिमुलस प्याकेज ल्याउनुपर्ने बताए । उनले आयोगले प्रतिवेदनले सुझाव दिएअनुसार सानो बजेट तथा कार्यक्रम संघीय बजेटमा नराख्ने, भूतप्रभावी कर नलाउने र घर बहाल कर स्थानीय तहलाई नै जिम्मेवारी दिनुपर्ने बताए ।
उनले कृषिमा विदेशी लगानी भित्र्याउने, पूर्वाधार निर्माणका निजी क्षेत्रको संलग्नता बढाउने, हाउजिङमा विदेशी लगानी खुलाउनुपर्ने, स्वदेशी सूचना प्रविधिको प्रयोग बढाउने तथा डेटा सेन्टर निर्माणमा जोड दिनुपर्ने सुझाव दिए । अहिले सार्वजनिक भएको नीति तथा कार्यक्रम आशावादी नरेको उनको भनाइ छ ।
'आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने हैसियत छ ? कार्यान्वयन भयो भने त्यतिखेर नै धन्यवाद भनौँला,' उनले भने ।