काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् ।
सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र सुधारका ठोस कदम चालिने बताए ।
'वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई राम्रोसँग बुझ्दछ,' अर्थमन्त्री पौडेलले भने, 'त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्याहरू समाधान गर्ने शृंखलामा ३०-३२ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेका छौं ।'
उनका अनुसार ती कानुनी संशोधनहरूलाई कार्यान्वयन गर्न आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अघि बढिरहेको छ । सरकारले चालिरहेका सुधारका प्रयासहरू पहिलो चरण मात्र भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइने बताए ।
अर्थमन्त्री पौडेलले प्राप्त उपलब्धिमा चित्त बुझाउने अवस्था नरहेको उल्लेख गर्दै थप आर्थिक उपलब्धि हासिल गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले आगामी बजेट निर्माणमा निजी क्षेत्रबाट आएका सकारात्मक सुझावलाई समावेश गरिने आश्वासन पनि दिए ।