भारत-पाकिस्तानबीचको लडाइँ हामीले संयमको आग्रह गरेपछि रोकियो : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संयम र शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिन सफल भएको दाबी गरेका छन् ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा सोमबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच युद्धको स्थितिसम्म पुगेको तनाव नेपाललगायत पक्षहरूको संयमता आग्रहपछि मत्थर भएको बताए ।

'केही दिन अघि हाम्रै छिमेकमा झन्डै–झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो,' उनले भने, 'तर त्यो लडाइँमा परिणत हुन पाएन । हामीले प्रारम्भदेखि नै भन्यौं-विस्तार हुन नपाओस् । हामीले कामना गर्यौं, सम्वाद गर्यौं, र उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो ।'

प्रधानमन्त्री ओलीले दुवै मुलुकलाई संयम अपनाएकोमा धन्यवाद दिँदै वर्तमानमा पनि केही आरोप–प्रत्यारोप जारी रहे पनि शान्ति सन्देशको आवश्यकता अझ बढिरहेको बताए।

'बुद्धका सन्देशहरू आज पनि उतिकै सान्दर्भिक छन्,' प्रधानमन्त्री ओलीले भने, 'व्यक्तिगत, पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा शान्तिको महत्व अझ बढी महसुस भइरहेको छ ।'

उनले बुद्धले दिएका शिक्षाहरू विश्व शान्ति र सहअस्तित्वका लागि मार्गदर्शक रहेको पनि बताए ।

Share News