काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँको बिगो माग गरिएको हो ।
अनुसन्धानअनुसार पौड्यालले २०५१ साल वैशाख ९ देखि २०८० असार ३१ सम्मको सेवाअवधिमा तलब, भत्ता, जग्गा बिक्री, बीमा, र छोराछोरीको पारिश्रमिक मिलाएर २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ वैध आय देखिएका छन् । तर, उनी र उनको परिवारले सो अवधिमा घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, रेष्टुरेन्टमा लगानी, सवारीसाधन, शेयर, ऋण सापटी र सुन खरिदजस्ता शीर्षकमा ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ खर्च गरेका थिए ।
यसरी करिब साढे तीन करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पौड्यालले अवैध सम्पत्ति पत्नी विष्णुमाया पौड्यालको नाममा राखेकाले उनीलाई समेत प्रतिवादी बनाइएको छ । आयोगले गैरकानूनी सम्पत्ति जफत गर्न माग गर्दै अदालतमा दाबी दर्ता गरेको हो ।
यो मुद्दाले सरकारी सेवामा रहेका व्यक्तिहरुले कसरी पदको दुरुपयोग गरेर अवैध सम्पत्ति आर्जन गरिरहेका छन् भन्ने कुरामा गम्भीर प्रश्न उठाएको छ।