रोजगारी र लगानीबिना अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई गति दिन लगानीकर्ता आकर्षण र रोजगारी सिर्जना अनिवार्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै पौडेलले अर्थतन्त्रलाई पुनः लयमा फर्काउन निजी क्षेत्रको मनोबल उठाउनु आवश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार वर्तमान सरकारले निजी क्षेत्रका गुनासाहरू सुन्ने र समाधान गर्न गम्भीर पहल गरिरहेको छ। अर्थमन्त्रीले सरकार गठन भएदेखि नै आर्थिक शिथिलता हटाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको जानकारी दिए ।

पौडेलले कानुनी अवरोधलाई अध्यादेशमार्फत हटाउने र आवश्यक परे कानून संशोधनमार्फत निजी क्षेत्रलाई सहज वातावरण बनाउने स्पष्ट संकेत दिए । 'कानून संशोधन मात्रै पर्याप्त छैन, निजी क्षेत्रलाई उत्साहित बनाउन थप प्रयास जारी रहन्छ,' उनले भने ।

अर्थतन्त्रको गति पुनर्स्थापित गर्न तीन तहमा काम हुने उनले स्पष्ट पारे । बजेटबाट सम्भव समाधान बजेटमै, कानुनी समस्या कानुनी प्रक्रियाबाट गर्न सकिन्छ ।

अन्त्यमा, उनले भने 'तपाईंहरूको मनोबल नबढाई, लगानीकर्ता नआकर्षित गराई, र रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि जान सक्दैन ।'

Share News