सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने कुनै रुचि नरहेको स्पष्ट पार्दै अब नयाँ आन्दोलन र अभियानतर्फ पार्टी अग्रसर रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवस १३६औँ संस्करणको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यथास्थितिवादी शक्तिहरूसँग मिलेर सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताए ।

'हामी जनतासँगै ठिक छौँ, हामी हाम्रो वर्गसँगै ठिक छौँ,' अध्यक्ष दाहालले भने, 'मिडियामा आउने हल्लाबाट कार्यकर्ताहरू भ्रममा नपर्नुहोस् । हामी फेरि नयाँ आन्दोलन, नयाँ आर्थिक क्रान्तिमा प्रवेश गर्दैछौँ ।'

उनले संविधान संशोधनसहित मुलुकले भोगिरहेको समस्याहरू समाधान गर्ने मार्ग ‘नयाँ अभियान’ बाट मात्र सम्भव हुने दाबी गरे ।

दाहालले पछिल्लो समय माओवादी केन्द्रलाई ‘कसैको खुट्टामा नटेकी उभिन नसक्ने’ भन्दै आरोप लगाउने प्रवृत्तिको आलोचना गर्दै, 'हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्यौँ, देशकै पहिलो पार्टी भयौँ,' भने ।

उनी भन्छन्, 'काँग्रेस र एमालेका विद्यार्थी संगठनहरू मिल्दा पनि हामीले स्वतन्त्र विद्यार्थी युनियनमा ऐतिहासिक जित हासिल गरेका छौँ ।'

उनले मुलुकमा राजनीतिक परिवर्तन उल्ट्याउने दुस्साहस देखिएको भन्दै त्यसलाई रोक्ने जिम्मेवारी माओवादी केन्द्रको काँधमा आएको बताए ।

'अब नयाँ आन्दोलनको समय आएको छ,' दाहालले भने, 'तपाईंहरू पनि आन्दोलनका लागि तयार रहनुहोस् ।'

Share News