ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे । 

प्रधानमन्त्री ओलीले भने, 'कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग पूर्ण रूपमा जोडिएको प्रदेश हो । हामी एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग निर्माण गर्दैछौं । लगानी गरेर उत्पादन बजारमा लैजाने समयसम्म त्यो राजमार्ग तयार भइसकेको हुनेछ। कच्चा पदार्थ आयात गर्न र उत्पादन निर्यात गर्न कुनै रोकावट छैन ।'

उनले थपे, 'कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकाहरूसम्म पहुँच हुने सडकहरू निर्माण भइसकेका छन् । विराटनगरसहितका विमानस्थलहरू पनि विस्तार हुँदैछन् । यस प्रदेशमा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलहरू छन् । सगरमाथासहितका हिमाल र बहुमूल्य जडिबुटीहरू पाइन्छन् । यहाँका जनता शिक्षित र मेहनती छन्, त्यसैले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ ।'

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, 'म युवाहरुलाई भन्न चाहान्छु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’

प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए । 

प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।
 

Share News