काठमाडौं । सरकारद्वारा प्रस्तावित भन्सार विधेयक मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए, जसलाई बहुमतले स्वीकृति दिइएको हो ।
उक्त विधेयक अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ गते प्रतिनिधिसभामा दर्ता गराएका थिए । त्यसपछि २०८० चैत १८ गते अर्थ समितिमा दफावार छलफलका लागि पठाइएको यो विधेयक २०८१ वैशाख १४ गते समितिबाट पारित भई पुनः सभामा पुगेको थियो ।
अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रतिनिधिसभामा पुनः प्रमाणीकरणका लागि पेश गरिनेछ । त्यसपछि सभामुखमार्फत राष्ट्रपतिसमक्ष पुगी राष्ट्रपतिको प्रमाणिकरणपछि कानुनको रूपमा कार्यान्वयनमा आउनेछ ।