तीन जिल्लाका सीडीओ हेरफेर, गृह मन्त्रालयले गर्‍यो सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर तथा पदस्थापन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी पदमा पठाइएको छ ।

यसअघि तनहुँमा कार्यरत श्यामकृष्ण थापाको सरुवा रामेछापमा गरिएको छ भने रामेछापका सीडीओ राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

त्यस्तै, मन्त्रालयमै कार्यरत बद्रिनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी पदमा खटाइएको छ । दैलेखका तत्कालीन सीडीओ तथा उपसचिव नवराज जैशीलाई भने मन्त्रालय तानिएको छ ।

यसैगरी, गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि खटाइएको मन्त्रालयले जानकारी दिएको छ । 

Share News