बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ । 

जिल्ला प्रहरी कार्यालयको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङलिङ नगरपालिका-१० सेवारो चोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा  ललितपुर महानगरपालिका-१० का  १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् । 


त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सबिना आचार्य उनका १० वर्षीय छोरा भविमय आचार्य  छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बोलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुना साथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 

Share News