ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी, ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङलिङ नगरपालिका-१० सेवारो चोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । 

आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ । 

Share News