मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने अधिकार कसैलाई पनि नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार पोखरामा आयोजित गण्डकीस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले संविधानले दिएको स्वतन्त्रता प्रयोग गर्दै शान्तिपूर्वक असन्तुष्टि जनाउन सकिने भए पनि विध्वंसात्मक गतिविधि गरेर संविधान भत्काउने प्रयास स्वीकार्य नहुने बताए ।

गृहमन्त्री लेखकले पछिल्लो समय पूर्वराजा समर्थक प्रदर्शनहरूप्रति संकेत गर्दै भने, 'सरकार वा कुनै नेता मन नपरे निर्वाचनमार्फत परिवर्तन गर्न सकिन्छ, तर संविधान च्यात्ने, भत्काउने वा फाल्ने कुरा गर्न पाइँदैन ।'

उनले थपे, 'लोकतन्त्रभित्र बसेर विरोध गर्न, आलोचना गर्न पाइन्छ । तर हत्याहिंसा र जबर्जस्तीमार्फत देश अस्थिरतातर्फ धकेल्ने कार्य सबैले अस्वीकार गर्नुपर्छ। यो सबैको साझा जिम्मेवारी हो ।'

गृहमन्त्री लेखकले निजामती कर्मचारीलाई सेवाग्राहीसँग झन्झटरहित, सजिलो र सकारात्मक व्यवहार गर्न निर्देशन दिए । उनले ढोकामै कागजात जाँच गर्ने, आवश्यक सुझाव दिएर प्रक्रिया सहज बनाउने र टोकन प्रणालीमार्फत सेवामा पारदर्शिता कायम गर्ने कुरामा जोड दिए ।

'यदि नागरिकता बनाउन आएको व्यक्तिसँग कागजात अपूरो छ भने सुरुमा नै देखाएर सुझाव दिनुपर्छ, दिनभर लाइनमा लगाएर अन्तिममा अस्वीकार गर्ने अभ्यास अन्त्य हुनुपर्छ,' उनले भने ।

उनले सेवा दिँदा कर्मचारीले हाँसी–खुशी व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने धारणा राखे ।

गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्दै देशमा स्थिर सरकार, शान्ति, सुशासन र समृद्धि ल्याउने वर्तमान सरकारको स्पष्ट लक्ष्य रहेको बताए ।

Share News