काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको दिन वैशाख ११ गतेलाई उत्सवका रूपमा मनाउन सबैलाई आह्वान गरेका छन् ।
बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख ११ गते मनाउन लागिएको युवा महोत्सवमा सबैको सहभागिता आवश्यक रहेको बताए ।
'हामीले ०६३ साल वैशाख ११ गते जनताको अधिकार खोस्ने राजतन्त्रलाई परास्त गरेका थियौं,' उनले भने, 'त्यस दिनको स्मरणस्वरूप युवा महोत्सव मनाउँदैछौं । सबै सहभागी बनौं ।'
प्रधानमन्त्री ओलीले एमाले स्पष्ट विचार, नीति र दृष्टिकोणका साथ राष्ट्रको समृद्धिका लागि अगाडि बढिरहेको बताए । उनले संक्रमणकालीन न्याय टुंग्याउन कुनै पनि जघन्य अपराध माफी दिन नहुने स्पष्ट पारे ।
उनले थपे, 'वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा एमाले एकल सरकारको रूपमा विकासको थालनी गर्दा विस्थापित गरियो । अहिले संयुक्त सरकारको हिस्सा भएर पनि हामी काम गरिरहेका छौं ।'
प्रधानमन्त्री ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै, भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको निष्ठा अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।