काठमाडौं । अदालतको आदेशपछि कारागार जानुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले चारवटा सन्देश दिएका छन् । उनले अदालतको निर्णयको सम्मान गर्दै कानूनी प्रक्रियालाई अघि बढाउने बताउँदै भावुक अभिव्यक्ति दिएका हुन् ।
रविको पहिलो सन्देशमा कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । 'अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु । तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु,' उनले भने ।
दोस्रो सन्देशमा उनले न्यायकै मन्दिरबाट अन्याय नहुने विश्वास व्यक्त गर्दै भने, 'विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन् ।'
तेस्रो सन्देश पार्टी र समर्थकलाई समर्पित थियो । उनले भने, 'पार्टीलाई एकढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नुहुन्छ भने बढाउनुहोस्, नसके पनि घटाउनुहोस् । अभियानलाई जनताको बीचमा पुर्याउनुहोस् ।'
र अन्तिम सन्देशमा उनले आफ्नो मुद्दालाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गरे। 'अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ,' उनले भने ।