भाटभटेनीको सम्पत्ति लुट्नेले भोलि अन्य व्यवसायीको सम्पत्ति लुट्न सक्छ : मीन गुरुङ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत्र १५ गते राजावादी आन्दोलनकारीले भाटभटेनी सुपरमार्केटसहित विभिन्न व्यवसायमा पुर्याएकाे क्षतिबारे खेद प्रकट गरेका छन् । 

बुधबार एक कार्यक्रमममा उनले उक्त घटनाप्रति खेद प्रकट गरेका हुन् । आन्दोलनकारीले अरूको व्यक्तिगत घर, सम्पत्ति र व्यवसायमाथि तोडफोड आगजनी गर्ने घटना गुरुङले जीवनमा पहिलोपटक भोगेको बताउँदै उक्त घटना साह्रै दुःखदायी भएको बताए । 

‘विभिन्न कालखण्डमा विभिन्न घटना देखेको र भोगेको छु । तर कसैको व्यवसाय र सम्पत्तिमाथि तोडफोड गर्ने, व्यक्तिगत घरमा तोडफोड आगजानी गर्ने अनि त्यति मात्रै नभई फोटोपत्रकारलाई समेत जलाएर मार्नु आन्दोलन कहिल्यै देखिनँ,’ उनले भने ।


आज भटभटेनीमाथि आक्रमण गर्नेहरूले भोलि अन्य व्यवसायमाथि आक्रमण गर्न सक्ने अभिव्यक्ति दिँदै गुरुङले भने, ‘आज व्यक्तिगत घरमाथि आगलागी भयो, भोलि अन्य प्रतिष्ठानमा आगलागी हुन सक्छ । आज भाटभटेनीको सम्पत्ति लुटे, भोलि सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छ । यस्तो लुटेराहरूले लिएको परिवर्तन हामीलाई चाहिएको हो ?’

देशलाई समृद्ध बनाउने सबै नेपालीको चाहना भएपनि सत्ताको प्राप्तिको लागि जुन घटना भयो त्यो निकै दुःखदायी भएको उनले बताए । आफ्नो व्यवसायमाथि तोडफोड हुँदा त्यसको जिम्मेवारी सरकाकारले लिनुपर्नेमा त्यस्तो नभएकोमा गुरुङले दुःख व्यक्त गरे । 

‘हामीले आर्जन गरेको सम्पतिबाट सरकारलाई कर तिर्छौं । त्यो कर राज्यको विभिन्न अंगमा पुग्छ । तर खै हामीलाई सुरक्षा खै ? जनता, व्यवसाय र सम्पतिको सुरक्षाको जिम्मा सरकारको हो । व्यवसायीलाई भगाएर देश सम्पन्न बनाउन सम्भव छ ?’

 

Share News