
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा गणतन्त्रका आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने प्रतीज्ञा गरेका छन् ।
सोमबारबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका उनले लुटतन्त्रलाई टुलुटुलु हेरेर नबस्ने दावी गरे ।
कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन ।’
सरकारले आफूलाई दुःख दिइरहेको भन्दै उनले शरीरमा एक थोपा रगत रहेसम्म लुटतन्त्रको विरुद्धमा उभिने बताए।
’दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ, यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाए पनि म पछि हट्दिनँ,’ लामिछानेले भने ।
उनले आफू लाछी मान्छे नभएको पनि जिकिर गरे ।
सभापति लामिछानेले रास्वपाले खोल नओढ्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
उनी आजैदेखि सभापतिको नेतृत्वमा फर्किएका छन् ।
सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।